Logo

राजनीति

७० वर्ष लडेर ल्याएको संविधान च्यात्न खोज्ने ओली अब पत्तासाफ हुन्छन् : प्रचण्ड



जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले आगामी निर्वाचनबाट पत्तासाफ हुने चेतावनी दिएका छन् । उनले दुईतिहाइको सरकार बचाउन नसक्ने, संविधानमाथि घात गर्ने, संसद् विघटन गर्ने र पार्टी विघटन गरेर धुजाधुजा पार्ने एमाले अध्यक्ष केपी ओली यो निर्वाचनबाट पत्तासाफ हुने चेतावनी दिएका हुन् ।

जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली राजनीतिमा असफल भइसकेको भन्दै जनताको अगाडि उनले पश्चाताप गर्नुपर्ने बताए । ‘अब राजनीतिक स्थिरता र आर्थिक विकास आवश्यक छ । ७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने दुस्साहस केपी ओलीले गरे । संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काए । त्यसविरुद्ध हामीले संघर्ष गर्‍यौं । त्यही क्रममा यो गठबन्धन बन्यो’, उनले भने, ‘अब नयाँ नेपाल निर्माण गर्ने अभिभारा पनि गठबन्धन दललाई नै छ । त्यसैले गठबन्धनको पक्षमा मत खसाल्नुहोस् ।’

मंसिर ४ गते दुई विचार, दुई प्रवृत्ति, दुई संस्कृति र दुई गठबन्धन आमनेसामने भएको बताउँदै उनले भने, ‘एउटा गठबन्धन ७० वर्ष लडेर प्राप्त गरेका अधिकार रक्षा गर्न चाहने र अर्को संविधान तथा जनताले पाएको अधिकार उल्ट्याउन चाहने गठबन्धन छ । त्यसैले यो निर्वाचनमा सामान्य औपचारिक निर्वाचनको अभ्यास मात्रै छैन । जनताले जनताको अधिकारको रक्षा गर्ने कि यसलाई उल्ट्याउने भन्नेका बिचको लडाइँको रुपमा मंसिर ४ को निर्वाचन छ ।’अर्को गठ

बन्धनलाई भोट दिनु भनेको निरंकुशता र अराजकताको भूमरीतर्फ जानु भएको भन्दै उनले देशलाई फेरि विघटन र प्रतिगमनतिर जान नदिन सचेत भएर वामलोकतान्त्रिक गठबन्धनको पक्षमा भोट खसाल्नसमेत आग्रह गरे ।

कर्णालीबाट प्रतिगमनकारी, निरंकुशतावादी र सामान्तवादीलाई शून्य बनाएर छाड्नुपर्नेमा जोड दिँदै उनले भने, ‘तपाईं कर्णालीवासीले यो रेकर्ड बनाउनुपर्नेछ । कर्णाली प्रदेश जागरण र परिवर्तनको प्रदेश, न्याय समानताको पक्षमा दृढतापूर्वक उभिने प्रदेशका रुपमा खडा गर्नुपर्ने छ । जुम्लावासीले रेकर्ड बनाएर कर्णालीभरि नै बन्नेछ ।’

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १४:४९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।