बैतडी । सत्ता गठबन्धनका तीन शीर्ष नेता चुनावी सभामा सम्बोधन गर्न बुधबार बैतडी आउँदै छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पाटनमा आयोजना हुने चुनावी सभामा आउन लागेका हुन् ।
संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावी सभाका लागि नेतात्रय पाटन आउन लागेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए । संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई ध्यानमा राखेर जिल्लाको पाटनमा चुनावी सभाको आयोजना गरेको हो ।
सत्तारुढ शिर्ष नेताहरु बैतडी आउने भएपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । यस्तै उनीहरूको स्वागतका लागि पाटन बजार झकिझकाउ पारिएको छ ।
बुधबार नै नेतात्रयले दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावी सभामा पनि सम्बोधन गर्ने कार्यक्रम छ । बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संयुक्त रूपमा गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् ।
गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा छन् । प्रदेश सभा (१) मा नेपाली कांग्रेसका वीररबहादुर बिष्ट र प्रदेश सभा (२)मा नेपाली कांग्रेसका शिवराज भट्ट प्रतिस्पर्धामा छन् ।




















प्रतिक्रिया