काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफूहरुले भ्रष्टाचारीमाथि डोजर चलाउन चाहेको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अवैध संरचनामा डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा रहेको बताए ।
काठमाडौंको बसन्तपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले देशमा सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई कुनै पनि ढंगले उन्मुक्ति नमिल्ने व्यवस्था बनाउनुपर्ने बताए । ‘भ्रष्टाचार गर्ने मन्त्री, प्रधानमन्त्री सबैलाई कानुनको दायराभित्र ल्याएर कारबाही गर्न सक्ने व्यवस्था बनाउनुपर्छ’, उनले भने, ‘हामीले मौका पायौँ भने नागरिक आयोग गठन गरेर ०४५ साल पछिका सबै नेताको सम्पत्ति छानबिन गर्छौं ।’
अध्यक्ष लिङ्देनले अहिले सिंहदरबारदेखि वडासम्म भ्रष्टाचार मौलाएको दाबी गरे । उनले आफूले पाँच वर्षसम्म संसद्मा एक्लै प्रतिपक्षीको रुपमा भूमिका र्वानिह गरेको बताउँदै भने ‘मैले पाँच वर्षसम्म जे गरेँ, त्यसलाई कसरी हेर्नुभएको छ ? मैले त म एक्लै भएँ, तपाईंहरूले पत्याउनुभएन । म अब मंसिर ४ पछि साथीहरू लिएर आउँछु, हेर्नुहोला भनेर चुनौती दिएर आएको छु ।’




















प्रतिक्रिया