नवलपरासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन् । नवलपरासी विकासमा धेरै पछि परेको र यो जिल्लाको विकासका लागि उद्योगपति चौधरीलाई यहाँ पठाइएको देउवाले बताए ।
पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेलाई जतानले दिएको अभिमत केपी ओलीले बीचमा नै घाँटी निमोठेको भन्दै अब गठबन्धनलाई अत्याधिक बहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरे । संसद विघटन नगर्ने र जनताले दिएको अभिमत पूणर्रुपमा पालना गर्ने पार्टीलाई विजय गराउन पनि उनले मतदातालाई आग्रह गरे ।
चौधरीको जितले यस क्षेत्रको विकासको ढोका खुल्ने भन्दै देउवाले नवलपरासी पश्चिमका मतदातालाई भने, ‘तपाईँहरु विनोद चौधरीलाई जिताएर पठाउनुस्, हामी उहाँमार्फत यस जिल्लामा विकास पठाउछौं ।’
’चुनावी सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी ४ मंसिरको चुनाव पाण्डव र कौरबबीचको महाभारत युद्ध जस्तै भएकाले जनताले पाण्डवहरुको पक्षमा मतदान गर्न आग्रह गरे । ‘मंसीर ४ मा जनताले कौरब र पाण्डवमध्ये एक रोज्नुपर्ने अवस्था छ । जनताको अभिमतको अवमूल्यन गर्ने कौरवहरुको पराजय निश्चित छ’, उनले भने, ‘मतदाताले वाम लोकतान्त्रिक गठबन्धनको पाँच पाण्डवहरुका उम्मेदवारलाई विजय गराउने छन् ।’
कार्यक्रममा बोल्दै प्रचण्डले उम्मेदवार विनोद चौधरीको विजय यो क्षेत्रको विकासको कोषेढुङ्गा सावित हुने बताए । ‘चौधरीको उम्मेद्बारी तपाईं आम मतदाताको सुनिश्चित भविष्य हो । विजय गराउनुहोस् । अरु हामीले गर्छौ’, उनले भने ।
सोही कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्इ तथा उम्मेदवार विनोद चौधरीले आफूले यस क्षेत्रका जनताले भोगेको मल, बीउ, डुबान तथा बेरोजगारीको समस्यालाई योजनाबद्ध रुपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । २५ बर्षसम्म रोकिएको विकासलाई अब गति दिने उनले बताए ।




















प्रतिक्रिया