काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । काठमाडाैं निर्वाचन क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका उम्मेदवारसमेत रहेका उनले यो काम निर्वाचन आचारसंहिता विपरीत हुने जिकीर पनि गरेका छन् ।
काठमाडौं महानगरपालिका-३१ जागृतीनगरको वस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भूमि आयोगको प्रतिवेदनका सुझाव नआएसम्म प्रतिक्षा गर्नुपर्ने बताए । बागमती नदी किनारका वस्ती हटाउन सूचना जारी गरिएकोमा आपत्ति जनाउँदै उनले भने, ‘वागमती सभ्यता सर्वाधिकार सम्पन्न समिति ले राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझावहरु दिइएको हुन्छ, ती सुझावहरुलाई कार्यान्वयन गर्ने समयसम्म हामी सबै त्यसको प्रतिक्षामा बस्नुपर्छ ।’
अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुम्वासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने सिंहले बताए । आफूले अरु दलका नेताहरुले जस्तो झुठो आश्वासन नदिने बताउँदै उनले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग पनि छलफल गर्ने र समस्याको समाधान निकाल्ने कुरामा विश्वस्त रहन आग्रह गरे ।
सुकुम्वासी र भूमिहीनका इच्छा, आकांक्षा र चाहनालाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको बताउँदै नेता सिंहले भने, ‘तपाईंहरुले कत्तिको ख्याल गर्नुभएको छ, मैले यो कुरा संसदमा होस् वा सार्वजनिक कार्यक्रममा पनि बोल्दै आएको छु ।’ उनले भूमिहीन र सुकुम्वासीहरुको समस्याको समाधान आफूहरुले मात्रै गर्ने सक्ने भन्दै कुन चाहिं उम्मेदवारलाई जिताउँदा आफ्नो भविष्य राम्रो हुन्छ, भन्ने लेखाजोखा गरेर कांग्रेसलाई मंसिर ४ गतेको दिन रुख चिनहमा मतदान गर्न आह्वान गरेका छन् ।




















प्रतिक्रिया