Logo

थाइल्याण्डको बैंककमा राजाविरोधी प्रदर्शन चर्किएपछि देशभर संकटकाल घोषणा



थाइल्याण्डको बैंककमा राजाविरोधी प्रदर्शन चर्किएपछि देशभर संकटकाल घोषणा गरिएको छ । थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि आन्दोलनरत विद्यार्थी समूहले राजाविरुद्ध नाराबाजी गरेका थिए । नागरिक अधिकारका लागि भन्दै उनीहरूले बिहीबार बिहानैदेखि प्रदर्शन गरेका थिए ।

शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा संकटकालीन आदेश जारी गरेको विपक्षी नेताहरूले बताएका छन् । विपक्षी समूहले प्रहरीले केही प्रभावशाली नेतासहित २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएको छ ।

युवाहरूले प्रजातन्त्रका लागि भनी गर्दै आएको आन्दोलन थप हिंसात्मक बन्ने देखेपछि देशमा संकटकाल लगाउनुको विकल्प नदेखिएको सरकारी अधिकारीले दाबी गरेका छन् ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र राजाको अधिकार कटौतीको माग गर्दै प्रदर्शन गरेका थिए भने सरकारले देशमा शान्ति र सुव्यवस्था कायम गर्न संकटकाल लगाउनुपरेको बताएको छ ।

हजारौँ विद्यार्थी तथा सरकारविरोधी कार्यकर्ता बैंककमा भेला भई शाही मोटर गुड्ने मार्ग नै अवरुद्ध पार्ने उद्देश्यले सडकमा उत्रिएर तीन औँला उठाएर सांकेतिक रूपमा विरोध प्रदर्शन गर्नुका साथै राजा र सरकारका अधिकार कटौतीसमेतको पक्षमा नाराबाजी गरेका थिए ।

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार