लकडाउन नहुँदो हो त यतिबेला महिलाहरू ब्युटीपार्लर धाइरहेका हुन्थे । सौन्दर्य प्रशाधन खरिद गरिरहेका हुन्थे । तर अहिले त्यस्तो अनुकूलता छैन । कहिलेकाहीँ असहज कुराले पनि नयाँ कुराहरूको खोजी र अभ्यास गर्न प्रेरित गर्छ । लकडाउनले गर्दा ब्युटीपार्लर धाउन नपाएपछि वा सौन्दर्य प्रशाधन उपलब्ध नभएपछि यतिबेला महिलाहरूले त्यसको विकल्प खोजिरहेका छन् ।
जस्तो कतिपयले घरेलु सौन्दर्य प्रसाधन बनाउन र त्यसको प्रयोग गर्न सिक्दैछन् । घरमै उपलब्ध सामग्रीबाट उनीहरूले यस्तो प्रशाधन तयार गरिरहेका छन् । जस्तो दूध, मह, बेसार, घिउकुमारी आदि सौन्दर्य प्रशाधनका लागि उपयुक्त प्राकृतिक साधनहरू हुन् ।
प्राकृतिक तौर तरिका
अनुहार एवं छाला, केस, आँखा, ओठ, नङ एवं समग्र शारीरिक सौन्दर्य कायम गर्ने प्राकृतिक र दिगो विधि हो, योग ।प्रतिदिन आधा घण्टा सूर्य नमस्कार, प्राणायाम, उत्थान आसन, कपालभाती, धनुरासन आदि गरेर प्राकृतिक सौन्दर्य कायम गर्न सकिन्छ । छाला र केसलाई स्वस्थ एवं चम्किलो बनाउन प्राणायामको महत्वपूर्ण भूमिका हुन्छ । प्राणायामले शरीरमा प्राण वायुको प्रवाह बढाउँछ । प्राणायाम सही तरिकाले सास लिने सर्वोत्तम विधि हो । प्रतिदिन १० मिनेट मात्र प्राणायाम गर्दा पनि अनुहार एवं छालालाई राम्रो प्रभाव पर्छ । कपालभाती प्राणायामले शरीरको कार्बनडाइअक्साइड हटाएर रगतलाई शुद्ध गर्न मद्दत गर्छ । त्यसबाहेक पनि यहाँ केही आसनबारे चर्चा गरिएको छ, जसले खासगरी अनुहारको सुन्दरता बढाउन मद्दत गर्छ ।
भुजंगासन
कम्मर र काँधलाई लचिलो बनाउन उपयोगी हुन्छ । यसले शरीरलाई राम्ररी विश्राम पनि मिल्छ । मनलाई शान्त तुल्याउँछ । छालालाई लचिलो र चम्किलो बनाउँछ ।
मत्यासन
यसले सासको गहिराइ बढाउँछ । हर्मोनको असन्तुलन सही राख्छ । मांशपेसीलाई आराम दिलाउँछ । छालालाई अरू लचिलो बनाउँछ ।
हलासन
हलासनले अनुहार र टाउकोमा रक्त प्रवाह बढाउँछ । नतिजा, अनुहारको छालामा चमक आउँछ ।
सर्वांगासन
सर्वांगासनले टाउकोमा रक्त प्रवाह बढाउँछ र छालामा चमक ल्याउँछ । साथसाथै अनुहारमा हुने दागधब्बा हटाउँछ ।
त्रिकोणासन
अनुहार र टाउकोमा रक्त प्रवाह बढाउँछ । अधिक मात्रामा अक्सिजनको प्रवाह गराउँछ । अनुहारको चमक बढाउँछ ।
शिशुआसन
शिशुआसनले पनि टाउकोको हिस्सामा रक्त प्रवाह बढाउँछ । तनाव र थकान हटाउँछ ।
शीतली वा शीतकारी प्राणायाम
यसले शरीरलाई शीतल बनाउँछ । अनुहारमा चमक ल्याउँछ । जुनसुकै योग आसनले पनि प्रत्यक्ष रुपमै अनुहार एवं छालाको सौन्दर्य बढाउँछ । योगासन गर्दा मांसपेशी बलियो एवं लचिलो हुन्छ, रक्त प्रवाह राम्ररी हुन्छ, शरीरमा अक्सिजनको आपूर्ति बढ्छ । यसले शरीरको समग्र सौन्दर्यमा फाइदा पुग्छ।




















प्रतिक्रिया