Logo

प्रमुख समाचार

माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष बरालले दिए राजीनामा



गुल्मी । माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले आफ्नो पदबाट राजीनामा दिएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले आफ्नो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । उनले  प्रदेशमा गठबन्धनको तर्फबाट विविध कमजोरीका बाबजुद  सामान्यतः सफलता प्राप्त गरेपनि आफूसहित अधिकांश स्थानमा पराजित भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।

उनले प्रदेशसभा समानुपातिकतर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटीको भावना र मर्मलाई न्याय गर्न नसकिएको, कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस बमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकिएको र उम्मेदवार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखापरेका समस्या र अन्तरविरोधलाई यथासमयमा सम्बोधन गर्न नसकिएका कारण हार ब्यहोर्नुपरेको बताएका छन् ।

उनले आफू अध्यक्ष पदमा नरहे पनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्न तयार रहेको बताएका छन् ।

बराल गुल्मी क्षेत्र नम्बर १ ( २) मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए । उनलाई एमालेका  चिन्तामणि पाण्डेले पराजित गरेका छन् । बराल २०७४ सालमा यही क्षेत्रबाट चुनाव जितेर लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्री समेत बनेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १३:५९   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।