Logo

खेलकुद

ब्राजिललाई जिताउन कासेमिरोले गरे निर्णायक गोल



ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

सोमबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विटरल्यान्डलाई १-० गोलले हराउँदै विश्वकपको सर्वाधिक सफल राष्ट्र ब्राजिलले अघिल्लो चरणमा स्थान पक्का गरेको हो।

स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिललाई जिताउन कासेमिरोले निर्णायक गोल गरे।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तुलनात्मक रूपमा स्विट्जरल्यान्डभन्दा राम्रो प्रदर्शन गरे पनि ब्राजिलले पहिलो हाफमा गोल गर्न सकेको थिएन।

खेलको ६६औं मिनेटमा भिनिसियस जुनियरले गोल गरे पनि रेफ्रीले भिएआरको सहयोगमा सो गोललाई मान्यता दिएनन्।

खेलको ८२औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका हुन्। कासेमिरोले रोड्रिगोको पासमा गोल गरेका हुन्।

कासेमिरोको गोल नै ब्राजिललाई नकआउट चरण पुग्न निर्णायक बन्यो।

यस खेलमा ब्राजिल स्टार खेलाडी नेयमारको अनुपस्थितिमा मैदान उत्रिएको थियो। चोटका कारण उनी मैदानबाहिर छन्।

यससँगै ब्राजिलले दुई खेलमा ६ अंक जोडेको छ। ब्राजिल समूह ‘जी’ को शीर्ष स्थानमा छ।

समूह चरणको पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले हराएको थियो।

क्यामरुनलाई १-० गोलले हराएर विश्वकप थालेको स्विट्जरल्यान्ड भने दोस्रो खेलमा पराजित भएको छ।

ब्राजिल एक खेलअगावै अन्तिम १६ मा पुगेको छ। अब उसले समूह चरणको अन्तिम खेलमा शनिबार क्यामरुनसँग खेल्ने छ।

ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँच पटक उपाधि जितेको छ। १९५० र १९९८ मा भने ब्राजिल उपविजेतामा सीमित बनेको थियो। सन् २०१४ मा ब्राजिल अन्तिम चारसम्म पुगेको थियो।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार ००:०१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।