Logo

खेलकुद

पोर्चुगल नकआउट चरणमा प्रवेश



पोर्चुगल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

मंगलबार बिहानका राति भएको समूह चरणको दोस्रो खेलमा दुई पटकको विश्वविजेता उरुग्वेलाई २-० गोलले हराउँदै पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको हो।

लुसेल स्टेडियममा भएको खेलमा पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेसले निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४औं मिनेटमा फर्नान्डेसले गोल गरेका थिए।

पहिला कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गरेको बताइए पनि आधिकारिक रूपमा फर्नान्डेसले गोल गरेको फिफाले जनाएको थियो।

विश्वकपमा फर्नान्डेसको पहिलो गोल हो।

यस्तै खेलको इन्ज्युरी समयमा फर्नान्डेजले पेनाल्टीमा गोल गरे। उरुग्वेको डि एरिया ह्यान्ड भएपछि पोर्चुगलले पेनाल्टीको मौका पाएको थियो।

यस जितसँगै समूह ‘एच’ को शीर्ष स्थानमा रहेको पोर्चुगल एक खेलअगावै अन्तिम १६ मा पुगेको छ।

उसले दुई खेलमा ६ अंक जोडेको छ।

पोर्चुगलले समूह चरणको पहिलो खेलमा घानाविरुद्ध ३–२ गोलको जित निकालेको थियो।

उरुग्वे भने एक अंकका साथ पुछारमा छ। अघिल्लो खेलमा ऊ दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो।

दक्षिण अमेरिकी देश उरुग्वे पहिलो संस्करणको विश्वकप विजेता हो। उरुग्वे सन् १९३० र १९५० गरी दुई पटक विश्व च्याम्पियन बनिसकेको छ।

‍पोर्चुगलले आठौं पटक विश्वकप खेलिरहेको छ। उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन। सन् १९६६ मा तेस्रो भएको पोर्चुगलले त्यसयता उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार ०२:५३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।