Logo

प्रमुख समाचार

को-को बन्लान् नेपाली काँग्रेसबाट समानुपातिक पुरुष सांसद ?



प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइरहेका छन् । प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६२ क्षेत्रको अन्तिम नतिजा आएको छ। बाँकी तीन वटा निर्वाचन क्षेत्रमा मतगणना चलिरहेको छ ।

समानुपातिकतर्फ समेत मतगणना सकिने तरखरमा छ । समानुपातिकतर्फको पछिल्लो अपडेट अनुसार एमाले पहिलो दलको रूपमा देखा परेको छ । उसले २७ लाख ७४ हजार ९९९ मत ल्याएको छ । नेपाली काँग्रेस २६ लाख ४४ हजार २४१ मतसहित दोस्रो स्थानमा छ। माओवादी केन्द्र ११ लाख ६१ हजार २५६ मतसहित तेस्रो स्थानमा छ ।

अब तीन वटा क्षेत्रमा मात्र मतगणना बाँकी रहेकाले थोरैले मत परिणाम घटबढ भए पनि ठूलो भिन्नता आउने देखिँदैन । पछिल्लो समय उदाएका केही नयाँ दलहरूका कारण पुराना र स्थापित भनिएका दलहरूलाई प्रत्यक्ष र समानुपातिकतर्फको मतमा समेत धक्का लागेको छ ।

राष्ट्रिय दलका रूपमा उदाएका नयाँ दलहरूका कारण ठूला भनिएका दलहरूलाई सिट सङ्ख्यामा धक्का लाग्दा सुरक्षित ठानेर समानुपातिकमा बसेका नेताहरूको सपनामा भने ब्रेक लाग्ने देखिएको छ ।

समानुपातिकतर्फको मत परिणामले नेपाली काँग्रेसका चर्चित नेताहरू संसद्मा जानबाट वञ्चित हुने देखिएको छ । समानुपातिकमा सुरक्षित ठानेर बसेका गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाश शरण महतलगायतका प्रभावशाली नेताहरूलाई अप्ठेरो परेको छ ।

काँग्रेस प्रवक्ता महत यस पटक प्रत्यक्षमा उम्मेदवार बन्नै चाहेनन् । उनी समानुपातिकको खास आर्य पुरुषतर्फ पहिलो नम्बरमा छन् । निधि पनि मधेसी पुरुषतर्फ पहिलो नम्बरमा बसेका छन् । स्याङ्जा २ बाट चुनाव लड्दै आएका पूर्व उपसभापति गोपालमान श्रेष्ठ जनजाति पुरुषतर्फ पहिलो नम्बरमा छन् । सह महामन्त्री जीवन परियार दलित पुरुषतर्फ र बारा(३ का फरमुल्लाह मन्सुर मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमा छन् ।

योगेन्द्र चौधरी थारु पुरुषको पहिलो नम्बरमा बसेका छन् । समानुपातिक छनोट प्रक्रियामा पहिलो नम्बर नै प्राथमिकता हुने गर्दछ ।

यद्यपि समानुपातिकबाट सांसद हुने हरूको सूची टुङ्गो लगाउनु पूर्वसङ्घीय संसद्मा पार्टीको तर्फबाट महिला उपस्थिति हेर्नुपर्छ । काँग्रेसको प्रतिनिधिसभा सदस्यमा निर्वाचित ५५ जना, समानुपातिकबाट पाउने ९सम्भावित० सिट ३३ र राष्ट्रियसभामा रहेका १० जना गरी सङ्घीय संसद्मा काँग्रेसका ९६ जना सदस्य हुन्छन् ।

यसको ३३ प्रतिशत अर्थात् ३२ जना महिला हुनुपर्छ । अहिले प्रतिनिधिसभामा एक जना र राष्ट्रियसभामा तीन जना महिला छन् । काँग्रेसले अब समानुपातिकबाट २८ जना महिलालाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ । बाँकी समानुपातिकतर्फबाट पाउने पाँच जना पुरुष जान पाउने छन् । महिलाको ३३ प्रतिशत पुर्‍याएपछि बाँकी कुन क्लस्टरबाट लैजाने भन्ने प्रस्ट व्यवस्था छैन ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीले समानुपातिकतर्फ बन्द सूची पठाइसकेकाले अब कसलाई सांसद बनाउने भन्ने जिम्मा निर्वाचन आयोगको सूत्रले निर्धारण गर्ने बताए । यसमा आयोगले नै कसरी समानुपातिक सांसद छनोट गर्ने भन्ने विषयमा टुङ्ग्याउने भएकाले यसमा पार्टीले केही गर्न नमिल्ने नेता लेखक बताउँछन् ।

यद्यपि यस पटक निर्वाचन आयोगले यसबारे निर्णय गरिसकेको छैन । तर, जनसङ्ख्याको अनुपातमा जसको धेरै छ, उनीहरूलाई नै प्राथमिकता दिने सम्भावना हुन सक्छ । त्यसो भएमा महिलाको प्रतिशत पुगेपछि पहिलो नम्बरमा खास आर्य, दोस्रोमा आदिवासी जनजाति र तेस्रो मधेसी क्लस्टरको पुरुषमा पहिलो नम्बरमा रहेका व्यक्तिहरू सांसद बन्नेछन् । यससँगै क्रमशः दलित, थारु, मुस्लिम, अपाङ्गता भएका तथा पिछडिएको क्षेत्र क्लस्टरको पालो आउनेछ ।

जसअनुसार काँग्रेसबाट प्रकाश शरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, जीवन परियार र योगेन्द्र चौधरी सांसद बन्ने छन् । यदि पिछडिएको क्षेत्रबाट सुरु गर्ने हो भने जय पति रोकाय, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, जीवन परियार र विमलेन्द्र निधि सांसद हुन्छन् । महत र श्रेष्ठ सांसद बन्न नपाउन सक्छन्

प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार  २ : २० बजे

1.395k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।