Logo

खेलकुद

दक्षिण कोरियामाथि ब्राजिलको ४-० गोलको अग्रता



कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलअन्तर्गत प्रि-क्वार्टरफाइनल खेलमा सर्वाधिक सफल टिम ब्राजिलले दक्षिण कोरियासँग खेलिरहेको छ।

कतारको राजधानी दोहास्थित स्टेडियम ९७४ मा जारी खेलमा पाँच पटकको विजेता ब्राजिलले कोरियामाथि ४-० गोलको अग्रता बनाएको छ।

खेलको ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले ४-० गोलको अग्रता बनाएको हो।

खेलको २८‍औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिलको अग्रता तेब्बर बनाएका हुन्। यससँगै रिचार्लिसनले ब्राजिलका लागि सबै प्रतियोगितामा नौ खेल खेल्दा १० गोल गरेका छन्।

यसअघि खेलको १२औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गरेका थिए। यस गोलसँगै नेयमार ब्राजिलका लिजेन्ड खेलाडी पेलेको कीर्तिमाननजिक पुगेका छन्।

७७ गोल गरेका नेयमारले थप दुई गोल गरेमा उनले ब्राजिलका लागि सर्वाधिक धेरै गोल गर्ने पेलेको रेकर्ड तोड्ने छन्।

त्यसअघि खेलको छैटौं मिनेटमा भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिलले अग्रता बनाएको हो।

भिनिसियसले ब्राजिलका लागि दोस्रो गोल गरेका हुन्। उनले सबै प्रतियोगिता गरी ब्राजिलका लागि १९ खेल खेलेका छन्।

आज ब्राजिल र दक्षिण कोरिया जित निकाल्दै क्वार्टरफाइनलमा पुग्न चाहन्छन्।

ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

अब, यस खेलको विजेता टिमले सेमिफाइनलका लागि साविक उपविजेता क्रोएसियासँग खेल्ने छ।

क्रोएसिया जापानमाथि पेनाल्टी सुटआउटमा ३-१ गोलको जित निकाल्दै अन्तिम आठमा पुगेको हो।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार ०१:२६   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।