मोरक्को कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार राति क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-० गोलले हराउँदै मोरक्को अन्तिम चारमा प्रवेश गरेको हो।
मोरक्को पहिलोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। यसअघि ६ वटा विश्वकपमा सहभागिता जनाएको ऊ अन्तिम १६ देखि अगाडि बढ्न सकेको थिएन।
यस्तै, मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टोलीसमेत बनेको छ। यसअघि कुनै पनि अफ्रिकन राष्ट्र अन्तिम चारसम्म पुग्न सकेका थिएनन्।
राजधानी दोहास्थित अल थुमाना स्टेडियममा जारी खेलमा मोरक्कोलाई जिताउन युसेफ अल नेसरीले निर्णायक गोल गरे।
उनले खेलको ४२औं मिनेटमा गोल गर्दै मोरक्कोलाई जिताएका हुन्।
खेलको इन्ज्युरी समयमा मोरक्कोका वालिद चेडिराले रातो कार्ड पाएपछि ऊ १० खेलाडीमा सीमिति बनेको थियो।
अब मोरक्कोले फाइनल प्रवेशका लागि फ्रान्स र इंग्ल्यान्डबीचको विजेता टिमसँग खेल्ने छ।
मोरक्को स्पेनलाई हराउँदै अन्तिम आठमा प्रवेश गर्दा पोर्चुगल स्विट्जरल्यान्डमाथि ६-१ गोलान्तरको फराकिलो जितसहित क्वार्टरफाइनल प्रवेश गरेको हो।




















प्रतिक्रिया