कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा मोरक्कोले अप्रत्याशित र ऐतिहासिक यात्रा तय गर्यो।
ऊ अफ्रिकी महादेशबाट पहिलोपटक विश्वकपको सेमिफाइनल खेल्ने टिम बन्यो।
यसअघि अफ्रिकी राष्ट्रहरू सेनेगल, क्यामरुन र घाना क्वार्टरफाइनलसम्मको यात्रा गरे पनि अगाडि बढ्न असफल भएका थिए।
असम्भव देखिने मोरक्कोको यो यात्रा अब करिबकरिब अन्तिम परीक्षामा पुगेको छ।
उत्तरी अफ्रिन राष्ट्र मोरक्कोले यो ऐतिहासिक भिडन्त उपाधि रक्षा अभियानमा रहेको फ्रान्ससँग खेल्दै छ।
नेपाली समयानुसार राति १२:४५ बजेबाट सुरु हुने फ्रान्स र मोरक्कोबीचको खेल राजधानी दोहास्थित अल बयात स्टेडियममा हुने छ।
यस पटक मोरक्कोलाई विश्वकपमा उदाएको अप्रत्यासित टिम भन्न सकिन्छ।
भविष्यमा यो विश्वकपलाई स्तब्धकारी नतिजाका लागि पनि सम्झना गरिने छ। यसमा सबभन्दा बढी योगदान मोरक्को नै छ।
मोरक्को एउटा आत्मघाती गोलबाहेक अरू गोल नै नखाई सेमिफाइनलमा पुग्यो।
कतार विश्वकपमा मोरोक्कोले समूह ‘एफ’ बाट प्रतिस्पर्धा गरेको थियो। मोरोक्कोले समूहको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो।
दोस्रो खेलमा विश्व नम्बर दुई वरीयताको बेल्जियमलाई २–० गोलले पन्छाएको थियो।
मोरोक्कोले तेस्रो खेलमा क्यानडालाई २–१ गोलले हराएको थियो। मोरोक्कोले क्यानडासँग एउटा आत्मघाती गोल खाएको थियो।
समूह चरणमा तीन खेलबाट सात अंक बनाएको मोरोक्को समूह विजेता बन्दै नकआउट चरणमा पुग्यो।
सन् १९८६ पछि मोरोक्को पहिलोपटक विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको थियो।
मोरोक्कोले नकआउट चरणमा पनि आफ्नो दमदार प्रदर्शन जारी राख्यो।
मोरोक्कोले अन्तिम १६ मा सन् २०१० को विश्वविजेता स्पेनलाई टाइब्रेकरमा ३–० गोलले स्तब्ध बनायो।
त्यसपछि क्वार्टरफाइनलमा पोर्चुगललाई १–० गोलको हार चखाएपछि मोरोक्को विश्व फुटबलमा नयाँ शक्तिको रूपमा स्थापित भएको छ।
सेमिफाइनलसम्म आइपुग्दा बलिया टोलीलाई हराउने र गोल नखाने मोरोक्कोको खेलले विश्व फुटबलमा नयाँ तरंग पैदा भएको छ।
विश्वकप अघि कसैलै नपत्याएको मोरोक्कोको यात्रा बिस्तारै उकालो लागेको छ।




















प्रतिक्रिया