दोहा । अर्जेन्टिनी कप्तान लियोनल मेसीले कतार विश्वकप करिअरकै अन्तिम अन्तर्राष्ट्रिय खेल हुने घोषणा गरेका छन् । मेसीले चालू विश्वकपमा पाँच गोल गर्दै गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एम्बाप्पेसँगै बराबरी गरेका छन् । मेसीको यो पाँचौँ विश्वकप संस्करण हो । मेसीले आफ्नो अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल विश्वकप फाइनलसँगै टुंग्याउन पाउँदा ज्यादै खुसी लागेको बताएका छन् ।
‘यति वेला म निकै खुसी छु, मेरो अन्तर्राष्ट्रिय फुटबल करिअरको अन्त्य विश्वकप फाइनलसँगै हुनेछ,’ क्रोएसियाविरुद्धको सेमिफाइनलपछि मेसीले आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब विश्वकपको फाइनल खेल नै मेरो करिअरकै अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ, वास्तवमा योभन्दा ठूलो उपलब्धि अरू केही पनि हुनेछैन ।’ विश्वकपमा धेरै भावनात्मक सम्बन्ध रहेको र अर्जेन्टिनी टोलीको जर्सीबाट प्रतिस्पर्धा गर्न अवसर पाउँदा खुसी लागेको उनको भनाइ छ ।
‘यही विश्वकपबाट म अर्जेन्टिनी टोलीमा बिताएका सबै भावनात्मक सम्बन्ध समाप्त गर्न चाहन्छु, योभन्दा राम्रो अवसर अब आउनेछैन,’ मेसीले भने, ‘यस वर्षजस्तो खुसी अरू समयमा पाइनँ, अब यस्तो सफलता फेरि प्राप्त गर्न सक्छु जस्तो लाग्दैन, यसै कारण म आफ्नो अन्तर्राष्ट्रिय करिअर उत्कृष्ट रूपमा समाप्त गर्न चाहन्छु ।’
चार वर्षपछि अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त आयोजनामा विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्दै छन् । सन् २०२६ को विश्वकपमा आफू फिट हुने वा नहुने पक्ष द्विविधा रहेको उनको भनाइ छ । ‘चार वर्षपछिको अवस्था कस्तो हुनेछ, कसैलाई पनि थाहा छैन,’ मेसीको भनाइ छ, ‘त्यो समयसम्म म आफूलाई फिट राख्न सक्छु कि सक्दिन भन्ने प्रश्न छ ।’ एजेन्सी




















प्रतिक्रिया