काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेल सञ्चालनका लागि तत्काल काम थाल्नुपर्ने बताएका छन् । अब पनि मोटरसाइकलको बिक्री बढाएर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने उनको भनाइ छ ।
मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्न नहुने पनि महानगर प्रमुख महर्जनको धारणा छ । शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा उनले भने, ‘काठमाडौं उपत्यकामा अब मेट्रो (रेल) को विकल्प छँदै छैन । आज निर्णय गर्नसक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ । मेट्रो ज्यादै महंगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के छ त ? अबको १५ वर्षपछि काठमाडौं उपत्यका भित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउने ?’ मेयर महर्जनले भने ।
मेट्रो रेलको विकल्प मोटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उनले अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको बताए । ‘विलम्ब नगरी यो काम अघि बढाऔँ’, उनले भने । मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाका मेयरले प्रमुख भूमिका खेल्नुपर्ने पनि मेयर महर्जनले बताए ।





















प्रतिक्रिया