काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले देशमा संघीयताविरोधी शक्तिहरु चल्मलाउँदै गएको बताएका छन् ।
संघीयतालाई राम्रोसँग ध्यान दिन नसके समस्या आउन सक्ने उनले बताएका छन् । हामीले ध्यान दिएनौँ भने गठबन्धन सरकारको आयु पनि लामो हुँदैन । त्यो पछरिँदा नराम्रोसँग पछारिन्छ। उठ्नै नसक्नेगरी पछारिन्छ, उनले न्यूज एजेन्सी नेपालसँग शुक्रबार भने, त्यो पछारिने वातावरण बिस्तारै बन्दै गएको छ ।
त्यो वातावरणबाट शिक्षा लिनु जरुरी छ । अहिले संघीयताविरोधी शक्तिहरु पनि चलमलाइरहेका छन् । संसदमा प्रतिनिधि भएरै पनि आएका होलान् । कतिपय प्रदेश सरकारको भोट त हाल्दै हाल्दिनँ भन्ने मान्छेहरु पनि प्रतिनिधि सभामा आइपुगेका छन् ।
संघीयताको कार्यान्वयनका लागि ६५ वर्ष संविधान सभाबाट संविधान जारी गर्न समय लागेको उनले बताए । उनले यदि संघीयता फेल भयो भने देशमा फेरि राजतन्त्र फर्किने पनि सम्भावना देखाएका छन् ।
हजारौँ हजार मान्छेको रगतसँग साटेर ल्याएको हो यो संविधान । संविधान सँगसँगै संघीयता आयो। संघीयता अलग भएर आएन, उनले भने, अहिलेको संघीयता खारेज हुने भनेको मैले ठाडो अर्थमा के बुझ्छु भने संघीयता सँगसँगै राजतन्त्र फर्किने भनेको हो ।
हामी राजतन्त्र फर्काउन तयार छौँ कि छैनौँ ? त्यो अहिलेको प्रमुख कुरा हो । हिजो लोकतन्त्रका लागि लड्ने राजनीतिक शक्तिहरुले यो सबै कुरा ध्यानमा राखेर प्रदेश, स्थानस्य तह र केन्द्र ३ वटैलाई राम्रो समन्वयका साथ अगाडी बढाउने कुरोलाई ध्यान दिनुपर्छ ।
उनले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग मेरो सम्पर्क भइरहने बताउँदै संघीयता कार्यान्वयनमा सबै सतर्क हुनुपर्ने बताएका छन् ।
सबैलाई तपाईंहरु जहाँ रहनुहुन्छ, प्रदेश संघ अथवा बाहिरै रहनुहोला। तर पार्टीका नेताहरु त हुनुहुन्छ नि । जहाँ रहे पनि तपाईं रहेको पार्टीलाई र अहिले भएका गठबन्धनका दलहरुसँग समन्वयमा रहेर संघीयता कार्यान्वयनको सवालमा ध्यान दिनुहोस् । मद्दत गर्नुहोस् । म पनि संघमा आएको छु, उनले भने, त्यहाँ बसेर मैले जे जिम्मेवारी पाउँला, त्यही जिम्मेवारीका साथमा मैले प्रधानमन्त्री, विभिन्न दलका नेताहरु सबैलाई भेटेर यो संघीयता कार्यान्वयनको बैठक, निर्णय शुरु गर्नुहोस् ।
यतिन्जेलसम्म गठबन्धन कसरी बनाउने, गठबन्धनलाई कसरी टिकाउने, गठबन्धनको सरकारलाई कसरी टिकाउने, आदि कुरा मात्रै हामी चिन्ता गर्थ्यौँ भने अब कामको चिन्ता गरौँ । गठबन्धनको सरकार जतिदिन टिक्ला, टिक्ला । तर यो संघीयता कार्यान्वयनको सवालमा ध्यान दिऊँ । संघीयतालाई राम्रो ढंगले लग्यौँ भने गठबन्धन सरकार पनि टिक्छ ।




















प्रतिक्रिया