काठमाडौं । संसदीय दलको नेताको उम्मेदवार छान्न बसेको कांग्रेस संस्थापनइतर पक्षको बैठक विनानिष्कर्ष सकिएको छ । संस्थापन पक्षबाट निर्विकल्प उम्मेदवार सभापति शेरबहादुर देउवा हुन् भने इतर पक्षबाट नेता शेखर कोइराला र महामन्त्री गगन थापाको दुबैको दाबी छ । दुवैले उम्मेदवारी दिँदा इतर पक्षको उपस्थिति अझ कमजोर देखिने ठहरसहित मिलेर जान गरिएको प्रयास अहिलेसम्म सफल हुन नसकेको हो ।
नेताहरूले शेखर र गगनलाई मिलेर जान दबाब दिएपछि कोही पछि नहटेको छलफलमा सहभागी एक नेताले जानकारी दिए । दुईमध्ये को उम्मेदवार बन्ने भन्ने निष्कर्षमा पुग्न उनीहरुलाई रातभरिको समय दिएर आज (सोमबार)का लागि नेताहरु उठेका छन् ।
सोमबार बिहानै देखि दलको नेताको उम्मेदवार चयन गर्नेबारे उपसभापति धनराज गुरुङको पहलमा नेताहरू चरणवद्ध छलफलमा जुटेका थिए । साँझ नेता शेखर र गगनसहित बसेको बैठकमा अधिकांश नेताहरूले दुई नेतालाई मिलेर अघि बढ्न सुझाव दिए ।
सहमहामन्त्री जीवन परियारले नेता कोइराला र थापालाई मिलेर जान र दुई मध्ये एक जनामात्रै उम्मेदवार बन्न सुझावसहित बैठक सकिएको जानकारी दिए । मंगलबार बिहान ८ बजे पुनः छलफल हुने र त्यही छलफलबाट निष्कर्षमा पुग्ने उनले बताए । निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ ।




















प्रतिक्रिया