काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेविरुद्ध लगाइएको प्रतिगमनको हल्ला चिर्न सफल भएको बताएका छन् । आफ्नो पार्टीले प्रतिगमनलाई पराजित गर्दै जनताको लोकप्रिय पार्टीका रूपमा आफूलाई उभ्याउन सफल भएको उनको दाबी छ ।
प्युठान–काठमाडौ्र सम्पर्क मञ्चद्वारा राजधानीमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले निर्वाचनअघि एमालेविरुद्ध प्रतिगमनको हल्ला चलाइएको र त्यसलाई चिर्न एमाले सफल भएको बताएका हुन् । ‘हामीले प्रतिगामी तत्त्वहरूलाई पराजित गर्यौं’, उनले भने, ‘प्रतिक्रियावादीको साँठगाँठलाई र अरूका इसारामा चल्ने शक्तिलाई पराजित गरेका छौँ ।’
ओलीले एमालेलाई सेटिङमा पार्टी फुटाएर सिध्याउँछु भन्ने षड्यन्त्र भए पनि त्यो विफल भएको दाबी गरे । ‘अदालतले पार्टी फुटाउन भनेको थिएन । नयाँ पार्टी दर्ता गर भनेको थियो’, उनले भने, ‘मैले धेरैपटक कोसिस गरेँ । तर पार्टी फुटाउने उद्देश्य लिएकाहरूले नयाँ दल दर्ता गर्न मानेनन् । त्यसैले म भन्छु, अदालतले होइन, पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालहरूले पार्टी फुटाएका हुन् ।’
आफ्नै पार्टी अध्यक्ष, दलको नेता र प्रधानमन्त्रीविरूद्ध ल्याइएको १९ पृष्ठ लामो अभियोग पत्रबाट पार्टी विभाजनको षडयन्त्रको खेल सुरु गरिएको उनको भनाइ थियो ।




















प्रतिक्रिया