काठमाडौं । राजधानीमा आज (शनिबार)देखि सुरु भएको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले विजयी सुरुआत गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार फार वेस्टर्न युनाईटेडलाई ६७ रनले हराउँदै लुम्बिनीले सुखद सुरुआत गरेको हो ।
लुम्बिनीले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको फार वेस्टर्नले १६ ओभर २ बलमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो । फार वेस्टर्नका लागि कप्तान हस्मतउल्लाह शाहिदीले सर्वाधिक ३५ रन जोडे । विनोद भण्डारीले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
फार वेस्टर्नलाई सस्तैमा समेट्न लुम्बिनीका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सागर ढकालले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।
लुम्बिनीका लागि लाहिरु मिलान्थाले ५० बलमा ६० रनको अर्धशतकिय ईनिङ खेले । कप्तान दीपेन्द्र सिंह ऐरी ३५ तथा गुलसन झा २५ रनमा आउट भए । फार वेस्टर्नका लागि उमर अलि र करन केसीले समान ३/३ विकेट लिए ।
शनिबार नै भएको उद्घाटन खेलमा काठमाडौं नाईट्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको थियो ।




















प्रतिक्रिया