काठमाडौं । नयाँ सरकार निर्माणका कसरतमा रहेका गठबन्धन दलका शीर्ष नेताको बैठक विनानिष्कर्ष सकिएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये प्रधानमन्त्री को पहिला बन्ने भन्ने विषय टुंगो लगाउन नसकेको हो ।
बैठकपछि संचार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्नेकु रामा सहमति भएको बताए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्ने बारेमा आइतबार बैठक बसेर टुंगो लगाइने जानकारी दिए । ‘जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ’, उनले भने, ‘बैठक भोलि फेरि बस्नेछ । भोलि हामीले निर्णय सुनाउनेछौँ । आज धेरै विषयमा गम्भीर रूपले छलफल भयो । छलफल सकारात्मक रूपले अघि बढेको छ ।’
प्रधानमन्त्री को पहिला हुने भन्ने विषय गौण भएको भन्दै कार्कीले मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढाउनुपर्ने कुरा ठूलो रहेको बताए । उनले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने भन्दै गठबन्धनले नै जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने जिकिर गरे । ‘प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण हो । मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढाउने ठूलो कुरा हो’, कार्कीले भने, ‘गठबन्धनकै नेतृत्वमा सरकार बन्छ । जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दिशातर्फ एकजुट भएर अघि बढ्ने बारेमा छलफल भएको छ ।’
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दिएका समय आइतबार बेलुका ५ बजे सकिँदैछ । त्यसअघि नै सहमतिमा पुगेर नयाँ सरकार निर्माणको प्रक्रियामा अघि बढ्नुपर्ने दलहरुको बाध्यता छ । संसद्को ठूलो दल बनेको कांग्रेस स्वभाविक रुपमा सरकारको नेतृत्व गर्न पहिला आफूले पाउनुपर्ने पक्षमा छ भने विगतकै मौखिक सहमतिअनुसार अब बन्ने सरकारको नेतृत्व पहिला आफूले पाउनुपर्ने माओवादी केन्द्रको अडान छ । पहिला आफूले सरकारको नेतृत्व नपाए गठबन्धनबाट बाहिरिन पनि माओवादी तयार रहेको नेताहरुले स्पष्ट पारिसकेका छन् ।
नेकपा एमाले भने अहिलेको गठबन्धनको गतिविधिलाई नजिकबाट नियाली रहेको छ । गठबन्धन तोडिए बल्ल आफूले सरकार गठनका लागि पहल लिने दाउमा छ ।
- याे पनि…
प्रचण्डसँग रामचन्द्रको आग्रह : प्रधानमन्त्री को पहिला बन्ने तपाईंहरू मिल्नुस्, तर गठबन्धन नछाड्नुस्




















प्रतिक्रिया