काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ सरकार गठनका सन्दर्भमा चलिरहेको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि थपिएका छन् । शक्ति बाँडफाँटमा सहमति जुट्न सकस भइरहेका बेला अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका तीन शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
यसअघि सुरुमा देउवा र प्रचण्डबीच छलफल भइरहँदा माधव नेपाल पनि बालुवाटार पुगेका हुन् । बालुवाटार जानुअघि प्रचण्डले पदाधिकारी बैठक बसेर सुझाव लिएका थिए भने देउवाले पनि आफू निकट नेतासँग संवाद गरेका थिए ।
बालुवाटार जानुअघि माओवादी पदाधिकारी बैठक खुमलटारमा बसेको थियो । बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छोड्न नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए । दुवै पद कांग्रेसले छोड्ने गरी सरकारमा नजान माओवादी पदाधिकारीले सुझाव दिएका छन् ।
यस्तै कांग्रेसका नेता विमलेन्द्र निधि देउवाको सन्देश लिएर बिहानै खुमलटार पुगेका थिए । प्रचण्डलाई भेट्न खुमलटार पुगेका निधिले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछोड्ने अडान सुनाएका थिए । दुवै पक्ष आ–आफ्नो अडानमा भएपछि सहमति जुट्न सकेको छैन ।
तीन नेताबीच छलफलका आधारमा सहमति जुटाउन प्रयास हुने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार साँझ ५ बजे सकिँदैछ । तर, गठबन्धनमा माओवादी केन्द्र र कांग्रेस दुबैले प्रधानमन्त्रीमा दाबी नछाड्दा सहमति जुट्न सकस भएको हो ।
- सम्बन्धित समाचार




















प्रतिक्रिया