Logo

प्रमुख समाचार

जसपामा आन्तरिक विवाद चर्किँदै, अशोक राईको समूह एमालेमा मिसिन सक्ने !



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद चर्किँदै गएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष अशोक राई समूहबीचको विवाद थप उग्र बन्दै गएको हो । कांग्रेस नेतृत्वको गठबन्धन तोडिएसँगै बनेको माओवादी–एमाले नेतृत्वकाे गठबन्धन सरकारमा जाने/नजाने र संसदीय दलको नेता को बन्ने भन्ने विषयमा उपेन्द्र र अशोक पक्षबीच विवाद बढ्दै गएको हो ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतसँग झन्डै दोब्बर मतान्तरले पराजित भएपछि उपेन्द्रले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका थिए । एमालेसँगै चुनावी गठबन्धन गरेपनि आफू पराजित भएपछि उनले एमालेसँगको सहकार्य चुनावसँगै सकिएको बताएका थिए ।

सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका अशोक राईको झुकावभने एमालेसहितको गठबन्धनतिर छ । अशोक पक्ष एमाले–माओवादी नेतृत्वकाे गठबन्धनमा स्थायित्वका लागि सहभागी हुनुपर्ने पक्षमा छ भने उपेन्द्र पक्ष एमाले भएकै कारण सरकार जान चाहँदैन । ‘अध्यक्ष यादवले यसअघि नै एमालेसँगको सहकार्य सकिएको भनिसक्नुभएको छ’, राई पक्षका एक नेता भन्छन्, ‘तर हामी स्थायित्वका लागि सरकारलाई साथ दिनुपर्छ भन्ने पक्षमा छौं ।’

संसदीय दलको नेतामा राई र यादवको भिडन्त

पार्टीभित्रकाे विवादकै कारण अहिलेसम्म जसपाले संसदीय दलकाे नेता चयन गर्न सकेकाे छैन ।

गत असोजमा डा. बाबुराम भट्टराई समूह विभाजित भएसँगै जसपा संघीय परिषद् अध्यक्ष बनेका अशोक राई अहिले संसदीय दलको नेताका बलिया दाबेदार पनि हुन् । उपेन्द्रले आफू पराजित भएपछि आफ्नो समूहबाट दलको नेताका लागि बारा–२ बाट विजयी भएका नेता रामसहाय प्रसाद यादवलाई अघि सार्दै छन् ।

तर उनको नाममा सहमति जुट्न नसकेपछि जसपाले बुधबारका लागि दलको नेता छान्न निर्वाचन गर्दै छ । जसपाका नेता प्रकाश अधिकारीका अनुसार अझै सहमतिको प्रयास भइरहेको र सहमति नजुटे अन्तिममा चुनाव हुने छ ।

अशोक राईको टिम एमालेमा प्रवेश गर्न सक्ने

एमाले नेतृत्वको गठबन्धन सरकारप्रति लचिलो देखिएकाे संघीय परिषद् अध्यक्ष अशोक राईको टिम नेकपा एमालेमा प्रवेश गर्न सक्ने अनलाइनपाना उच्च स्रोतको दाबी छ । उपेन्द्र पक्ष सरकारबाट टाढै रहन खोज्दा पनि सरकारमा जान खोज्नुले राई समूहको एमालेप्रति झुकाव देखिएकाे स्राेतकाे ठहर छ । यसबारे एमाले र अध्यक्ष राई पक्षबीच गोप्य छलफलसमेत भइरहेको स्रोत बताउँछ ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १९:०३   :  बजे

765
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।