काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेलगायतका दलसँग मिलेर प्रधानमन्त्री बनेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बिलखबन्दमा छन् । आफूसँग कुनै सल्लाह नै नगरी बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेकाे भन्दै प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट रहेका नेपालले पार्टी बनाउने आँट अझै कायमै रहेको बताएका छन् ।
जनवर्गीय संगठन र प्रवास कमिटीका नेताहरुसँगकाे जुम बैठकलाई आज (बिहीबार) सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी बनाउने आट आफूसँग रहेको भन्दै नआत्तिन नेता–कार्यकर्तालाई आग्रह गरे । त्यसक्रममा उनले आमनिर्वाचनअघि एमाले परित्याग गरेका घनश्याम भुसाल पार्टीमा आउन लागेको सुनाए । उनले भुसालसँगै अर्का एमाले नेता डा. भीम रावलसमेत आफूहरुसँग सकारात्म रहेको खुलासा गरे । भुसाल र रावल एमालेमा रहँदा नेपाल समूहमै रहेका थिए । तर एमाले विभाजित हँदा नेपाललाई साथ नदिएर एमालेमै रहेका थिए ।
अध्यक्ष नेपालका अनुसार भुसाल र रावल मात्र होइन, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम पनि एकीकतृ समाजवादीमा आउन सकारात्मक छन् । अध्यक्ष नेपालको भनाइ उधृत गर्दै एक नेताले भने, ‘साथीहरुले महाधिवेशन हुनुपर्छ पनि भन्नुभएको छ । हामी तयारी गर्ने छौँ । पार्टी बनाउने छौँ । साथीहरु पार्टीमा जोडिने कुराहरु आएका छन् । घनश्याम कमरेड तयार हुनुहुन्छ । भीम रावलले भोलि बसौँ भन्नुभएको छ । वामदेव कमरेड तयार हुनुभएको छैन । तर, सकारात्मक हुनुहुन्छ ।’
एकीकृत समाजवादीलाई अहिले प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी गराउने प्रयास गरिरहेका छन् । त्यसैका लागि बुधबार उनले नेपालसँग भेटवार्ता पनि गरेका थिए ।




















प्रतिक्रिया