काठमाडौं । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि अझै नेपाली जनशक्ति तयार भइनसक्दा भारतीय रेल्वे कम्पनी कोंकणसँगको म्याद एक महिना थप गरिएको छ । नेपाल रेलवे कम्पनीले २०७८ पुसमा एक वर्षका लागि भन्दै कोंकणसँग प्राविधिक कर्मचारी उपलब्ध गराउन सम्झौता गरेको थियो ।
सम्झौता अनुसार २६ जना प्राविधिक कर्मचारी ल्याएर जनकपुर–जयनगरमा रेल सञ्चालन गरिएको हो । तर एक वर्ष पूरा हुँदा पनि नेपाली जनशक्ति तयार भइनसकेपछि भारतीय कम्पनीका कर्मचारीलाई नै निरन्तरता दिनुपरेको नेपाल रेलवे कम्पनीले जनाएको छ ।
कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार नेपाली जनशक्ति तयार गर्नका लागि चार वटा पदका लागि १० जना कर्मचारी माग गर्दै विज्ञापन गरिएपनि पदपूर्ति हुन सकेको छैन । ४ लोको पाइलट, ४ स्टेसन मास्टर, १ ट्रयाक इन्जिनियर र १ इयर कन्डिसनरका लागि विज्ञापन खुलाइएकोमा इयर कन्डिसनरका लागि ३ जना र लोको पाइलटमा १ जनाको मात्रै आवेदन परेको उनले बताए ।
कर्मचारी भर्ना प्रक्रिया नटुंगिएकाले तत्काललाई कोंकणकै प्राविधिक टिमबाट रेल चलाइने उनले बताए । सुरुमा कोंकणबाट २६ जना प्राविधिक कर्मचारी ल्याइएको थियो । जसमध्ये केही कर्मचारी फिर्ता पठाई सकिएको र बाँकी १२ प्राविधिक कर्मचारी राख्ने तयारी गरिएको महाप्रबन्धक झाले बताए ।
रेल २०७८ चैत १९ बाट सञ्चालनमा आएको हो । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको छ ।





















प्रतिक्रिया