काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रका शर्मा र गगन थापाले पार्टीमा भएका सबै कमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गर्नुपर्ने बताएका छन् । मंसिर ४ मा सम्पन्न निर्वाचनपछि मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको भन्दै उनीहरुले अब सबै कमजोरीलाई स्वीकार गर्दै छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा शनिबार शुमकामना सन्देश जारी गर्दै महामन्त्रीद्वय शर्मा र थापाले प्रतिनिधिसभा निर्वाचनको परिणामबाट सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको र त्यो अस्वभाविक नभएको बताएका छन् ।
उनलीहरुले भनेका छन्, ‘यस बेला हामीमाझ दुईवटा दायित्व रहेका छन् । पहिलो– आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने । दोस्रो– यसबीचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने ।’
यस्तै, गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्याउन नसक्दा सत्ताको राजनीतिमा यो पटक पछि परेको महामन्त्रीद्वयले उल्लेख गरेका छन् । अब सरकारलाई जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्ने पनि उनीहरुले बताएका छन् ।
‘हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन’, उनीहरुले भनेका छन् ‘नेपाली कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्नेछ, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्नेछ ।’ काग्रेसले राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिने पनि महामन्त्रीद्वय शर्मा र थापाले स्पष्ट पारेका छन् ।























प्रतिक्रिया