Logo

प्रमुख समाचार

‘बहुदलीय व्यवस्था नै विघटन गर्दा पनि जीवित रहेको कांग्रेस सत्ताबाट बाहिरिँदैमा आत्तिन्न’



झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्ठन निर्माणमा केन्द्रित हुने बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज विपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब पाँच वर्षपछि सरकार बनाउने गरी सङ्गठन निर्माण र विस्तारमा लाग्ने बताए ।

महामन्त्री शर्माले आलोचनाका बीचमा नेकपा (माओवादी केन्द्र)लगायतका दलसँग गठबन्धन गरिएको भए पनि अहिले जोगाउन नसकिएको बताए । झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई आग्रह गरे ।

सत्ता समीकरणको फेरबदललाई अनपेक्षित घटनाको संज्ञा दिँदै उनले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई पनि अपदस्थ गरिएको इतिहास रहेको बताए । “बहुदलीय व्यवस्था नै विघटन गर्दा पनि जीवित रहेको नेपाली कांग्रेस सत्ताबाट बाहिरिदैमा आत्तिन्न”, उनले भने ।

चुनावअघिको कांग्रेस नेतृत्वको समीकरण चुनावपछि भत्किएको विषयमा पार्टीभित्र निर्मम र गम्भीर समीक्षा हुने उनले कार्यकर्तालाई आश्वस्त पारे । विपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै महामन्त्री शर्माले अबका दिनमा पार्टी एकजुट भइ अघि बढ्ने बताए ।

प्रकाशित मिति : १६ पुष २०७९, शनिबार १८:१६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।