दाङ । लुम्बिनी प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाका ८६ जना सदस्यहरुलाई लुम्बिनी प्रदेशसभा भवन दाङको देउखुरीमा शपथ खुवाएका हुन् ।
अन्य प्रदेशमा प्रदेशसभा सदस्यमध्ये जेष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराएर जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने गरेको भए पनि लुम्बिनीमा प्रदेशसभा नियमावली २०७९ लाई संशोधन गरेर प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए ।
प्रदेशसभाका ८७ सांसदमध्ये आइतबार ८६ जनाले शपथ लिएका छन् । तीमध्ये एक जना राप्रपाबाट समानुपातिकतर्फकी सांसद बाँकेकी मिनाकुमारी श्रेष्ठ अनुपस्थित रहिन् । ८६ सांसदमध्ये ९ जनाले मातृभाषामा शपथ ग्रहण गरे । उनीहरुले अवधि भाषा तथा थारु भाषामा शपथ लिएका हुन् ।
प्रदेशसभा सदस्यको शपथ ग्रहण समारोहमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, पूर्वमुख्यमन्त्री शंकर पोखरेल, पूर्वसभामुख पूर्णबहादुर घर्तीलगायतको उपस्थिति थियो ।




















प्रतिक्रिया