काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मुलुक र जनताका पक्षमा काम गर्न पदमै पुग्नुपर्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन् । उनले यस पटक आफू पनि बाहिरै बसेर सरकारलाई सफल पार्न र पार्टी सुदृढीकरणको काममा लाग्ने स्पष्ट पारे ।
आइतबार सञ्चारकर्मीहरुसँगको भेटमा नेता पुनले भने, ‘तीनपटक मन्त्री भइसकेको छु । यसपटक बाहिरै बसेर अध्यक्ष नेतृत्वको सरकारलाई सफल पार्न लाग्छु ।’ उनले आफू मर्यादाक्रम नमिलेर वा रोजेको मन्त्रालय नपाएका कारण सरकारबाहिरै बस्न लागेको भन्ने भ्रममा नपर्न पनि सम्वद्ध सबैलाई आग्रह गरे । ‘धेरैवटा दल मिलेर सरकार बनेको छ । फरक पार्टीबाट मन्त्री भएका व्यक्तिसँग मर्यादा क्रममा तल वा माथि पर्ने भइयो भनेर सरकारमा जानेरनजाने हुँदैन’, पुनले भने, ‘यसपटक बाहिरै बसेर प्रधानमन्त्रीलाई सहयोग गर्छु, पार्टी सुदृढीकरणको काम पनि गर्छु भनेर हो ।’
राजनीतिक जटिलताकाबीच वर्तमान सरकार गठन भएको भन्दै उपमहासचिव पुनले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरे । आफ्ना अध्यक्षको नेतृत्वमा नयाँ सरकार बनेपछि जनमानसमा उत्साह आएको दाबी पनि उनले गरे ।
उनले विदेशबाट आउने नेपालीले व्यक्तिगत प्रयोजनका लागि ल्याउने मोबाइल फोनमा लगाइएको प्रतिबन्ध फुकुवा गरेर सरकारले जनपक्षीय कामको थालनी गरिसकेको बताए । नेता पुनलाई वर्तमान सत्ता गठबन्धनको सूत्रधारमध्ये एक मानिन्छ । ४ मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा पुनले दोश्रो तहका एमाले नेताहरुसँग वैकल्पिक सत्ता गठबन्धन निर्माणको अघि बढाएका थिए । चीनमा उपचार गराएर फर्किएलगत्तै पुन यो गठबन्धन निर्माणमा भित्रभित्रै सक्रिय भए ।




















प्रतिक्रिया