Logo

खेलकुद

खेलाडी–आयोजक विवादपछि ९ ओभरमा झारिएकाे खेलमा काठमाडौंसँग हार्‍याे विराटनगर



काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाईट्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको छ । खेलाडी र आयोजक बीचको विवादका कारण ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको थियो । पारिश्रमिक नपाएकाे भन्दै खेलाडीले टस गर्नै नमान्दा खेल सुरु हुन ढिला भएकाे थियाे ।

टियु मैदानमा भएको खेलमा काठमाडौंले विराटनगरलाई ३४ रनले पराजित गरेको हो । काठमाडौंले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ८.५ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनायो । विराटनगरका लागि गौरान्शूं शर्मा २२ तथा विवेक यादव १२ रनमा आउट भए । नन्दन यादव ११ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंका लागि कमल सिंह ऐरीले ३ तथा सुनाम गौतम र अनिल खरेलले समान २/२ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो । काठमाडौंका लागि सन्दिप रजालीले अविजित ३२ रन बनाउँदा कमलसिंह ऐरी १४ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा एलेक्स ब्लेकले १३ रन बनाए ।

विराटनगरका लागि नन्दन यादवले ३ तथा हुसेन तलत र कियोन जोसेफले समान १/१ विकेट लिए । जितसँगै काठमाडौं ७ खेलमा ४ जित ३ हार पारेको छ । ८ अंक सहित काठमाडौं तेस्रो स्थानमा कायमै रहेको छ । हारसँगै विराटनगर ७ खेलमा ४ अंक हात पारेर अंक तालिकाको पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १२:५७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।