Logo

प्रमुख समाचार

सचिवहरुलाई प्रधानमन्त्रीकाे चेतावनी : सेवाग्राहीलाई लाइनमा राखेर सास्ती नदिनू, नत्र कारबाही गर्छु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनाभित्र सरकारी सेवा सुधार्न सचिवहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारमा सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै उनले सरकारी सेवा लिँदा नागरिकले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखिएमा त्यसको जिम्मेवारी पदाधिकारी हुनुपर्ने भन्दै कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइन्ससेको लाइन प्रदेश तहमा भएको भनेर संघीय सरकारका सचिवहरु पन्छिन नपाउने पनि बताए । ‘कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर तपाईँहरू पन्छिन पाउनुहुन्न’, निर्देशन दिँदै उनले भने, ‘तीनै तहमा तपाईँहरुले खटाएका कर्मचारीले काम गरिरहेका छन् । र उनीहरूको कार्यसम्पादनमा मूल्यांकन गर्ने अधिकार तपाईँहरूले लिएर बस्नुभएकै छ । त्यसैले त्यहाँका जनताका दुख र कठिनाइसँग तल्ला तहका सरकारको काम हो भनेर तपाईँ हामी पन्छिन मिल्दैन ।’

राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने “नो अब्जेक्सन सर्टिफिकेट”, सरकारी अस्पतालमा विरामको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउने चेतावनी दिएका छन् ।

सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उनले ३० यस्तो दिएका हुन् । यस्तै, प्रधानमन्त्री प्रचण्डले विकास निर्माण, सेवा प्रवाह र राजस्व संकलनमा नीतिगत समस्या भए आफूले समाधान गर्ने भन्दै कार्यान्वयनमा अरुलाई दोष देखाएर नउम्किन सचिवहरुलाई निर्देशन दिएका छन् । उनले विकास खर्च कम हुनुको कारण सोध्दै नीतिगत तहमा समस्या भए सुधारका प्रस्ताव ल्याउन आग्रह गरेका छन् । तर कार्यान्वयनमा एक अर्का निकायलाई दोष देखाएर पन्छिन नपाउने पनि बताए ।

चालु आर्थिक वर्षको आधा अवधि सकिँदा समेत करिब ११ प्रतिशत मात्रै विकास खर्च हुनुमा को जिम्मेवार भनेर पनि उनले प्रश्न गरेका छन् । ‘नीतिगत तहमा समस्या भए तथ्यमा आधारित सुधारका प्रस्ताव ल्याउनुहोस्’ उनले भनेका छन्, ‘तर कार्यान्वयनमा देखिएका कमजोरी अब कसैलाई पन्छ्याएर उम्किन मिल्दैन ।’

प्रधानमन्त्री प्रचण्डले वार्षिक लक्ष्यको एक चौथाइमात्रै राजस्व संकलन भएको र त्यसको तुलनामा खर्च बढी हुनु दुखद अवस्था भएको बताए । लक्ष्यअनुसार राजस्व संकलन नहुने, संकलन भएको राजस्वबाट पुँजीगत खर्च नहुने अनि भएको खर्च पनि बेरुजु हुने भन्दै उनले वित्तीय प्रशासनको पूरा चक्र नै समस्याग्रस्त रहेको भन्दै सचिवहरुलाई संवेदनशील हुन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले चालु खर्च करिब ३३ प्रतिशत र पूँजीगत खर्च करिब ११ प्रतिशत मात्र भएको भन्दै त्यसलाई निराशाजनक भनी टिप्पणी गरेका छन् । यसैगरी प्रधानमन्त्री प्रचण्डले काम छाडेर अनावश्यक रुपमा सभा गोष्ठीमा नजान कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उनले भनेका छन्, मन्त्रालयको आधिकारिक धारणा लिएर जाने र फर्किएपछि प्रतिवेदन लिने÷दिने व्यवस्था मिलाउनु होला ।’

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १५:११   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।