पोखरा । अमेरिकी टिम बीवाईएससी पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मर्याङ्दीलाई पराजित गर्दै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
६ पटकको आहारारा पोखरा गोल्डकप विजेता तथा ६ पटकको उपविजेता मनाङलाई १–० ले आमन्त्रित अमेरिकी क्लब बीवाईएससीले पराजित गरेको हो । बाई पाएर सिधै क्वार्टरफाइनमा पुगेको साविक उपविजेता मनाङ पहिलो खेलबाटै बाहिरिएको छ ।
आहारारामा अमेरिकी क्लब बीवाईएससी दोस्रो पटक सहभागी भएको हो । क्लब अघिल्लो संस्करणमा पनि सहभागी भएको थियो । जसमा विभागीय टोली एपीएफसँग क्वार्टरफाइनलमा ३–१ ले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिनु परेका थियाे ।
बीवाईएससीले आजकाे खेलकाे पहिलो हाफको सुरुवातमै अग्रता लिएको थियो । खेलको १७ औं मिनेटमा बीवाईएससीका प्रविण बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले हेक्टर ओर्टेगाले ब्याकमा फालिदिएको बल डिबक्सबाट रिसिभ गर्दै अवसरलाई गोलमा परिणत गरिदिएका थिए ।
दोस्रो हाफमा मनाङकाे खेल केही सुधार गरेर मैदान प्रवेश गरे पनि मनाङले नतिजा उल्टाउन भने सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले डिबक्स क्षेत्र नजिकै पटकपटक मौका पाए पनि अवसरको सदुपयोग गर्न सकेनन् ।
नेपाली फुटबल इतिहासमा सबैभन्दा चर्चित र सफल मानिएको मनाङ मस्र्याङ्दी आहारारा गोल्डकपको पनि सफल टिम हो । २२ औं संस्करणसम्म आइपुग्दा मनाङ १२ पटक फाइनल पुगेर ६ पटक उपाधि उचालिसकेको छ ।




















प्रतिक्रिया