Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ५ अर्बभन्दा बढीको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोर अंकको वृद्धि भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ ।

लगातार बढेको बजारमा बिहीबार नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा नयाँ लगानीकताकर्ता प्रवेशले तीव्र उतारचढाव देखियो । जसले गर्दा कारोबार रकम पनि बढेर ५ अर्ब नाघेको हो ।

साताको ५ कारोबार दिनमध्ये चार दिन नेप्सेमा वृद्धि हुँदा मंगलबार भने एकल अंकको समान्य गिरावट भएको थियो । बुधबार करिब ६५ अंकको उच्च वृद्धि भएको बजार परिसूचक नेप्से बिहीबार पनि १७.९२ अंकले वृद्धि भएर २१४३.७६ अंकमा बन्द भएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ सहित अन्य उपसमूह गिरावट भएपनि त्यसबाहेकका सबै उपसूचकमा वृद्धि हुँदा बजार परिसूचक नेप्सेलाई उचालेको हो । बिहीबार बैंकिङ उपसमूह ०.३१ प्रतिशत र अन्य उपसमूह ०.८७ प्रतिशतले गिवाट हुँदा होटल तथा पर्यटन उपसमूह ५.७५ प्रतिशतले वृद्धि भएको छ ।

बिहीबार नेप्सेमा कुल ५ अर्ब ४ करोड ७ लाख ४१ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको मात्रै ४३ करोड १९ लाख ६७ हजारको कारोबार भएको छ । यस्तै रिडी पावरको २१ करोड ४१ लाख ८ हजार र हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख ७९ हजारको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१३ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १४७ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये ५ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशत र २ कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यता मनाकामना स्मार्ट लघुवित्तको सेयरमूल्य २.८८ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य २.८२ प्रतिशतले गिरावट भएको छ ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १५:४०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।