Logo

प्रमुख समाचार

कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरुले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको स्पष्ट पारेका छन् । कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री अफर गरेको विषय सार्वजनिक भएको थियो ।

तर शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा महामन्त्री शर्माले कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर नगरेको दाबी गरेका हुन् । ‘नेपाली कांग्रेस तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर पनि भनिरहेको छैन’, उनले भने ।

महामन्त्री शर्माले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा अफर गरेको चर्चा भ्रम मात्रै रहेको जिकिर गरे । ‘नेपाली कांग्रेस अहिले यस्तो कुरामा विलकुलै संलग्न छैन,’ उनले भने, ‘नेपाली कांग्रेस अहिले कसैलाई अगाडि लगाएर हामी भर्खरै बाहिरिएको अवस्थामा जिम्मेवार भूमिकामा रहन छाडेर हामीबाट संस्थागत रूपमा कहीँ पनि त्यस्तो भइरहेको छैन ।’

पार्टीको नेतृत्वले सावधानी अपनाउन नसक्दा राजनीतिक दुर्घटना भएको महामन्त्री शर्माको ठहर छ । उनले अन्तिम समयमा महामन्त्रीहरूको पनि पर्याप्त हस्तक्षेप नपुगेको स्वीकार गरे । ‘अन्तिम समयमा हाम्रो तर्फबाट पर्याप्त हस्तक्षेप हुन सकेन भनेर हामी पनि आत्मालोचित हौंला ।’

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १८:३७   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।