मर्जर प्रक्रिया पूरा गरी ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले आज पुस २५ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन्।
यी दूई बैंक मर्जर भएर ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नामबाट संयुक्त कारोबार सुरु भएको हो । मर्जरपश्चात ग्लोबल आइएमई बैंक लिमिटेड नेपालकै सबैभन्दा ठूलो बैंक बनेको छ । सो बैंकको संयुक्त कारोबारको शुभारम्भ काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन्।

मर्जर पश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप ४ खर्ब ८ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७६ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ। यो सँगै कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्।
त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन्।

दुई बैंकहरुको मर्जरपश्चात कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक बनेको छ।
दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई उच्चतम प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालकै पहिलो बैंक बन्न सफल भएको बताए। उनले हालसम्म ५ वाणिज्य बैंक, १० विकास बैंक र ५ वित्त कम्पनी मर्ज तथा प्राप्ति भएर ग्लोबल आइएमई बैंक मुलुककै सबैभन्दा ठूलो बैंक भएको बताएका हुन्।
अब ग्लोबलले मुलुकको बैंकिङ प्रणालीको आधारमा बजार हिस्सा १० प्रतिशत ओगट्ने देखिएको उनले बताए।




















प्रतिक्रिया