काठमाडौं । लुम्बिनी अल स्टार्सले पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगको च्याम्पियन बनेको छ । टियु क्रिकेट मैदानमा बुधबार विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो ।
लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउँदा पृथु बास्कोटाले ३१ रन बनाए । हुसेन तलतले १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउँन सकेनन् ।
लुम्बिनीका लागि हरमित सिंह र सागर ढकालले समान २÷२ तथा विपुल शर्मा र किशोर महतोले समान एक÷एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट भएर १३३ रन बनाएको थियो ।
लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
विराटनगरका लागि रान नानन र नन्दन यादवले समान दुई दुई तथा हुसेन तलत, कियोन जोशेफ, सुर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक÷एक विकेट लिए ।
उपाधिसँगै लुम्बिनीले ५५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता विराटनगरले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको थियो ।
पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारले सहभागिता जनाएका थिए ।




















प्रतिक्रिया