Logo

राजनीति

प्रधानमन्त्रीले गरे मनोचिकित्सकसँग परामर्श, मनोसामाजिक समस्या समाधान गर्न निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओलीले मनोचिकित्सकहरु सँग परामर्श गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार कोभिड-१९ का कारण सिर्जित मनेसामाजिक समस्याको सम्बोधन गर्ने गरि  तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशित गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुनेमा जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

उक्त अवसरमा प्रा.डा. सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्रा.डा. सरोजप्रसाद ओझा, प्रा.डा. दिव्यासिंह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा.फणीन्द्र बराल र डा. रोशन पोखरेल लगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गरेका थिए । चिकित्सकहरुलाई  प्रधानमन्त्रीले आमन्त्रित गरेर सल्लाह सुझाव लिएकोमा धन्यवाद ज्ञापन गरे ।

प्रधानमन्त्रीले ओलीले स्पष्ट गर्दै, कोभिड १९ को प्रभाव विरूद्द व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियो लगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक रहेको बताएका छन् । यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन् ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलबार