काठमाडाैं । हालसम्म २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अधिकांश बैंकहरुले उत्साहजनक प्रगति गर्न सकेका छैनन् ।
धेरै बैंकहरुको निस्क्रिय कर्जा (एनपीएल) बढ्दा नाफा प्रभावित भएको छ । २० बैंकहरुमध्ये १३ बैंकको नाफा बढेको छ भने ७ बैंकको नाफा घटेको छ ।
२० वाणिज्य बैंकमध्ये दोस्रो त्रैमासमा एभरेष्ट बैंकले खुद नाफा आर्जनमा छलाङ मारेको छ । खुद नाफा ८९.२९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । एभरेष्टले गत आर्थिक वर्षको सोही अवधिमा ८३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ६१.३६ प्रतिशतले बढेर एक अर्ब ७५ करोड ३६ लाख रुपैयाँ पुगेको छ गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।
नबिल बैंकको ५६.६७ प्रतिशत, नेपाल एसबिआई बैंक ५०.३९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४१.२८ प्रतिशत, एनआईसी एसिया बैंकको खुद नाफा ३६.२७ प्रतिशत बढेको छ ।
त्यस्तै, लक्ष्मी बैंकको ३१.७७ प्रतिशत, हिमालयनको २८.४२ प्रतिशत, सिभिल बैंकको २६.३९ प्रतिशत, सानिमा बैंकको १९.३४ प्रतिशत र एनएमबि बैंक खुद नाफा ११.०८ प्रतिशतले बढेको हो ।
पुँजीका आधारमा सबैभन्दा ठुलो बैंकले बनेको ग्लोबल आइएमई बैंकले भने पुस मसान्तसम्ममा २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्षको तुलनामा बैंकको नाफा ४.४२ प्रतिशतले मात्रै बढेको छ।
त्यस्तै, माछापुच्छ्रे बैंकको नाफामा पनि सामान्य वृद्धि भएको छ । माछापुच्छ्रेको १.४३ प्रतिशतले बढेको छ ।
७ बैंकको नाफा प्रभावित
हालसम्म वित्तीय विवरण प्रकाशन गर्ने २० बैंकमध्ये ७ वटा बैंकको नाफामा गिरावट आएको छ । जसमध्ये कृषि विकास बैंकको नाफा सबैभन्दा धेरै घटेको छ ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद नाफा १०९.०६ प्रतिशतले घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको बैंक चालु आर्थिक वर्षको सोहि अवधिमा १२ करोड ८९ लाख रुपैयाँले घाटामा देखिएको छ। बैंकको खराब कर्जा बढ्दा उसको नाफामा दबाव परेको हो।
सिटिजन्स् बैंकको खुद नाफा पनि ३२.११ प्रतिशतले घटेर ८४ करोड १३ लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोही अवधिमा एक अर्ब २३ ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सिद्धार्थ बैंकको नाफा २६.३८ प्रतिशतले घटेर १ अर्ब १६ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा सिद्धार्थले १ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नेपाल बैंक लिमिटेडको खुद १७.३९ प्रतिशत घटेर १ अर्ब १७ करोड ६ लाख रुपैयाँमा खुम्चिएको छ भने सनराइज बैंकको नाफा १२.२८ प्रतिशतले घटेर ६५ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ ।
प्रभु बैंकको ४.९२ घटेर १ अर्ब १९ करोड ९९ लाख रुपैयाँमा खुम्चिएको छ भने प्राइम कमर्शियल बैंकको खुद नाफा १.५८ प्रतिशतले घटेर एक अर्ब ६५ करोड २० लाख रुपैयाँमा पुगेको छ ।
नबिलले कमायो सर्वाधिक नाफा
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा बैंकको खुद नाफा ५६.६७ प्रतिशतले बढेर ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
यस्तै एनआइसी एसिया बैंकले नबिललाई पछ्याएको छ । एनआइसी एसिया बैंकले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ ।
ग्लोबल आईएमई बैंकले २ अर्ब ७८ करोड ११ लाख नाफा कमाएको छ । सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकले २ अर्ब ७१ करोड १८ लाख नाफासहित पुँजीको आधारमा सबैभन्दा ठुलो रहेको ग्लोबललाई पछ्याएको छ ।
एनएमबि, स्ट्यान्डर्ड चार्टर्ड, प्राइम, एभरेष्ट, सानिमा, प्रभु, नेपाल एसबिआई, नेपाल बैंक, सिद्धार्थ, लक्ष्मी र माछापुच्छ्रे बैंकले एक अर्बभन्दा बढी नाफा कमाएका छन् ।
कुमारी बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले भने दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।




















प्रतिक्रिया