काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेम आचार्यकाे आत्मदाह प्रयास राज्य संयन्त्र र समग्र सिष्टमकै असफलता भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा उनले यो सिष्टम चलाउनेको सबैको असफलता भएको उल्लेख गरेका छन् ।
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गर्दा घाइते भएका उनको उद्धार गरेर अस्पताल पु¥याइए पनि बुधबार बिहान उनको मृत्यु भएको थियो । यस घटनाबारे कांग्रेस महामन्त्री थापाले लेखेका छन्, ‘प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन पटक–पटक घोचीरहेको छ। यसो सोच्छु–उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि !’, थापाले लेखेका छन्, ‘फेरी सोच्छु(यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो। म, हामी सिष्टम चलाउनेको असफलता हो।’
कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र सिष्टम ठिक मार्गमा नआउने महामन्त्री थापाको बुझाइ छ । उनले अब आरोप–प्रत्यारोप भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न लाग्नुपर्ने बताएका छन् । ‘कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठिक हुँदैन। गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ।’, उनले भनेका छन्, ‘अब आरोप–प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला!’




















प्रतिक्रिया