काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्नेमा जाेड दिएकाे छ । पार्टीकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनुपर्ने पक्षमा अधिकांश सदस्यले जाेड दिएका हुन् ।
दुई दिनसम्म चलेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेससमेत साथ दिएको भन्दै बैठकमा पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा उसको समेत विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ भनी सुझाव मागेका थिए ।
धेरैजसो स्थायी कमिटी सदस्यले कांग्रेसलाईसमेत विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आइपुगेको भन्दै त्यसैका लागि अघि बढ्न प्रचण्डलाई सुझाव दिएका एक नेताले बताए । यसअघि एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच भएको सहमतिमा राष्ट्रपति र सभामुख एमालेले पाउने समझदारी भएको थियो ।
१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदा कांग्रेसले पनि साथ दिएपछि कांग्रेससँगसमेत राष्ट्रपतिबारे छलफल गर्नुपर्ने बताउँदै आएका छन् । प्रचण्डको यो भनाइपछि सत्ता साझेदार एमाले शसंकित बनेको छ ।




















प्रतिक्रिया