Logo

प्रमुख समाचार

राष्ट्रपति निर्वाचनका विषयमा प्रमुख शक्तिबीच राष्ट्रिय सहमति आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई



गाेरखा । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले राष्ट्रपति निर्वाचनका विषयमा प्रमुख शक्तिबीच राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । शनिबार गृहजिल्ला गोरखा आएका भट्टराईले पत्रकारसँगको कुराकानीमा राष्ट्रपति निर्वाचनबारे अधिकतम सहमित हुने तवरले जानु उपयुक्त हुने बताएका हुन् ।

‘राष्ट्रिय राजनीतिका अहम् मुद्दामा सहमति गराएर जानु उपयुक्त हुन्छ, राष्ट्रपति जस्तो संस्थालाई चाहिँ धेरैभन्दा धेरै सहमति चाहिन्छ,’ उनले भने,‘सर्वसम्मत नहुन पनि सक्छ, अधिकतम सहमति हुने तवरले जानु उपयुक्त हुन्छ ।’

भट्टराईले कम्तीमा कांग्रेससहित एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका शक्तिहरूबीच राष्ट्रिय सहमति बन्नपर्नेमा जोड दिए । अभिभावकीय भूमिका भएकाले पनि राष्ट्रपति पदमा राष्ट्रिय सहमति भएमा राम्रो हुने उनको भनाइ छ ।

‘सकेसम्म सरकार निर्माणलगायतका विषयमा ५ वर्ष राष्टिय सहमति गरेर जाऔँ, नभए कम से कम देशको अभिभावकका रूपमा परिकल्पना गरिएको राष्टपति सर्वसम्मतिले गरौँ भन्ने बहस चलिरहेको छ,’ उनले भने,‘ त्यसमा को व्यक्तिमा सहमति बन्छ अहिलै भन्न सकिने अवस्था चाहिँ छैन ।’

भट्टराईले राष्ट्रिय सहमतिको निमित्त निरन्तर पैरवी गरिरहेकाले त्यसैमा आधारित भएर शुभेच्छुकहरूले आफूलाई पनि एउटा पात्र हुन सक्ने भनेर चर्चा चलाएका बताए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १८:३७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।