काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन् ।
स्वास्थ्य सेवा विभागको आज अनुगमनका क्रममा उनले खुला सिमानाका कारण नेपालमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिनसक्ने भन्दै बुस्टर डोजलाई छिटोभन्दा छिटो लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । मन्त्री गिरीले खरिद प्रक्रिया धेरै संवेदनशील विषय भएकाले शतप्रतिशत पारदर्शिता हुने गरी काम गर्न निर्देशन दिए ।
उनले स्वास्थ्य संस्था सूचना प्रविधिमैत्री बनाउन आग्रह गर्दै बिरामीले घरबाटै कुन अस्पतालमा कति सघन उपचार कक्ष (आइसियु) शय्या खाली छ भनेर थाहा पाउनुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी परिवर्तन ल्याउनु आवश्यक रहेको बताए । “विभागले जति जनताप्रति उत्तरदायी भएर काम गर्छ त्यति नै जनताले स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन्”, उनले भने ।
उनले विभागबाट धेरै उपकरण अस्पतालमा पठाए पनि ती प्रयोग नभएको गुनासो आफूले सुन्ने गरेको भन्दै उपलब्ध उपकरणका बारेमा अवस्थाबुझि काम गर्न सम्बन्धित सबैलाई निर्देशन समेत दिए । विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले समग्र विभागको बारेमा जानकारी गराएका थिए ।




















प्रतिक्रिया