Logo

प्रवास

बुटवलकी ३१ वर्षकी चन्द्राले अष्ट्रियामा आफ्ना ३ सन्तानको गरिन् विभत्स हत्या



अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नो तीन जना छोरा–छोरीको हत्या गरेकी छिन् । बागलुङ घर भई अष्ट्रियामा बस्दै आएकी ३१ वर्षीया भट्टराई थरकी उक्त महिलाले ८ महिने छोरासहित ३ र ९ वर्षीया छोरीको हत्या गरेकी हुन् ।

प्रहरी कार्यालय पुगेर फर्किएका नेपाल पत्रकार महासंघ यूरोप सदस्य रविचन्द्र भट्टराईका अनुसार उक्त महिलाले आफ्नै अपार्टमेन्टमा छोरा–छोरीको हत्या गरेकी हुन् । हत्या गरिसकेपछि उक्त महिला आफैले विहानको ५ः२० बजे प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।

प्रहरी घटनास्थलमा पुग्दा ९ वर्षीया छोरी भने जीवितै थिइन् तर, उपचारका लागि अस्पताल पु¥याउँदा उनको पनि मृत्यु भइसकेको थियो । उक्त महिलाले छोरा–छोरीको हत्या गरिसकेपछि आफै पनि हत्या गर्न लागेकी प्रहरीलाई बयान दिएकी छन् ।

बागलुङ घर भएका ३४ वर्षीय अर्याल थरका पुरुषले १० वर्ष अगाडि आफन्तले चिनेजानेको आधारमा बुटवलकी २१ वर्षीया भट्टराई थरकी उक्त युवतीलाई विद्यार्थी भिसामा अष्ट्रिया ल्याएर सन् २०१० मा विहे गरेका थिए ।

गत अक्टोवर ३ मा श्रीमान–श्रीमती संगै भएर तीन वर्षीया छोरीको जन्मदिन समेत मनाएका बताइएको छ । यस घटनाको मुख्य कारण अझैँ पनि स्पष्ट नभएको भियना प्रहरीले जनाएको छ । यस घटनाबारे नेपाली राजदूत मणि भट्टराईसँग बुझ्न खोज्दा उनी बोल्न मानेनन् । भियनामा ५ सय भन्दा बढी नेपाली नागरिकहरु बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १०:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।