Logo

खेलकुद

यूएईलाई हराउँदै यू–१९ क्रिकेट विश्वकपमा छनोट



काठमाडौं । यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

सन् २०१६ यता नेपालले पहिलो पल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।

यूएईका लागि इथान काल्लले ६६ बलमा ५० रन बनाउँदा आर्यान सक्सेनाले ३४ रन बनाए । आर्याश शर्माले ३२ तथा अम्मर बदामीले १९ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो । नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान खनालले ३ चौका र १ छक्का प्रहार गरेका थिए । देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।

विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाए । केसीले ५ चौका प्रहार गरेका थिए । उत्तम थापा ३६ रन बनाएर आउट भए । ६ ओभर १ बलमा ३ विकेट गुमाईसकेको नेपालका लागि थापा र कप्तान खनालले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।

दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाए । नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै आउट भएका थिए । अर्का ओपनर अर्जुन कुमाल ३ तथा आकाश त्रिपाटी ९ रनमा आउट भए । 

यूएईका लागि धुव्र पराशरले ३ तथा हरिस शेठ्ठी र आयान खानले समान २/२ विकेट लिए । हर्शित शेठ र अम्मर बदामीले समान १/१ विकेट लिएका छन् । 

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  ६ : ०४ बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।