Logo

खेलकुद

लिग टू : नेपालको अपराजित यात्रामा पूर्णविराम, ब्याटिङ कमजाेर हुँदा यूएईसँग ६८ रनले पराजित



काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको छ । २०८ रनको लक्ष्य पछ्याउने क्रममा खराब ब्याटिङका कारण नेपालको अपराजित यात्रामा ब्रके लाग्यो ।

नेपालले ३१.५ ओभरमा १३९ रन जोड्दा सबै विकेट गुमाएको हो । नेपालका शीर्ष ६ मध्ये तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र आरिफ शेख शून्यमा आउट हुँदा नेपालले खेलमा दबाब झेल्नुपर्यो ।

कुशल मल्लले सर्वाधिक ६० रन जोडे पनि टिमलाई जित दिलाउन पर्याप्त भएन । विकेटकिपर आसिफ शेखले १७ रन, कुशल भुर्तेलले ५, दीपेन्द्रसिंह ऐरीले ७ तथा गुल्सन झा र सोमपाल कामी ४/४ रनमा आउट भए । सन्दीप लामिछाने २६ रनमा अविजित रहे।

नेपालले १७ रन जोड्दा ३ विकेट गुमाएको थियो। त्यसपछि आसिफ शेख र कुशल मल्लले चौथो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । नेपालले ८.५ ओभरमा ५४ रन जोड्दा चौथो विकेटका रुपमा आसिफलाई गुमाएको थियो ।

नेपालले थप १० रन जोडेपछि आरिफ आउट भएका थिए । त्यसपछि दीपेन्द्रसिंह ऐरी र कुशल मल्लबीच साझेदारीको प्रयाश भएपनि लामो समय उनीहरु टिक्न सकेनन् । २८ रनको साझेदारी गरेका यी दुई ब्याट्सम्यान ६ रनको अन्तरमा आउट भएका थिए।

बलिङतर्फ यूएईका स्पीनरद्धय रोहन मुस्ताफा र कार्थिक मैयाप्पनले तीन तीन विकेट लिए । जुनैद सिद्धिकीको नाममा दुई विकेट रह्यो । नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार पाँच जितपछि पहिलो हार ब्यहोरेको हो । विश्वकप लिग–२ को अंक तालिकामा नेपाल ३० खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ । पाचौँ स्थानमा रहेको यूएईको ३० खेलबाट ३१ अंक छ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  ६ : २३ बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।