काठमाडौं । नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले राखेका सर्तका कारण विश्वासको मत लिने तयारीमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अन्योलमा परेका छन् । मुख्यमन्त्री शाह भोलि (आइतबार) विश्वासको मत लिने तयारीमा छन्, तर साझेदार दलको अडान र सर्तका कारण उनी अन्यौलमा परेका छन् ।
माओवादी केन्द्रले यथास्थीतिमा मत दिन नसक्ने भन्दै केन्द्रीय कार्यालय, पेरिसडाँडालाई खबर गरेको छ भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलीय सहमतिको लिखित हस्ताक्षरविना विश्वासको मत दिन नसकिने स्पष्ट पारेकी छन् ।
दुवै पार्टीले मन्त्रालय भागबन्डामा कांग्रेस अनुदार देखिएको भन्दै तत्काल मत दिन नसकिने जनाएका हुन् । मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो ।
रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता शाह मुख्यमन्त्री बनेका थिए । माओवादी केन्द्र र नेपाली कांग्रेसको केन्द्रमा गठबन्धन बनेपछि सुदूरपश्चिममा भने कांग्रेस ढुक्क देखिएको छ तर शनिबार दुवै दलले सर्त राखेपछि मुख्यमन्त्री शाह भने अन्यौलमा परेका हुन् ।




















प्रतिक्रिया