काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ‘द्वन्द्वकालीन मुद्दा सामाधान गर्ने दायित्व सिंगो राज्यको हो’ भनेका छन् । ती मुद्दालाई कुनै एक दलले मात्रै नभएर सिंगो राज्य तथा सबै दल मिलेर समाधान गर्नुपर्ने उनले बताएका छन् ।
नेता लेखकले ती मुद्दालाई संक्रमणकालीन न्याय पद्दतिबाट सल्टाउनुपर्ने धारणा पनि राखे । प्रधानमन्त्री पुष्पकमल दाहालमाथि परेको रिटको सन्दर्भलाई लक्षित गर्दै लेखकले भने, ‘सर्वोच्च अदालतमा रिट पर्नु स्वभाविक हो । तर यो विषय कुनै एक दलको मात्रै विषय हैन । यो त सिंगो राज्यको विषय हो । सबै दल मिलेर यसलाई समाधान गर्नुपर्छ ।’
यी विषय समाधानका लागि विधेयकलाई चाँडो भन्दा चाँडो संसदमा अगाडि बढाउनुपर्ने, आयोग गठन गर्नुपर्ने पनि उनले बताए । द्वन्द्वकालीन मुद्दालाई सामान्य फौजदारी न्याय सम्पादनबाट समाधान नगरेर संक्रमणकालीन न्याय पद्दतिबाटै समाधान गर्नुपर्ने कुरा सर्वोच्च अदालतले पनि राम्ररी बुझेकोमा आफूलाई विश्वाव रहेको नेता लेखकले बताए ।
‘द्वन्द्वकालीन मुद्दाको समाधान सामान्य फौजदारी न्याय सम्पादनबाट नभएर संक्रमणकालीन न्याय पद्दतिबाट हुन्छ भन्ने कुरा सर्वोच्च अदालतलाई पनि राम्ररी थाहा छ’, उनले भने, ‘यस्ता मुद्दामा सामान्य फौजदारी कानुन आकर्षित हुँदैन । संक्रमणकालीन न्याय पद्दतिबाटै सम्बोधन हुन्छ भन्ने सर्वोच्च अदालतलाई राम्ररी थाहा छ।’
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दर्ता भएको द्वन्द्वकालीन मुद्दाको पेशी बिहीबारका लागि तोकिएको छ । ज्ञानेन्द्रराज आरणसहितले मंगलबार दर्ता गरेको रिट निवेदनमाथि बिहीबार पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।




















प्रतिक्रिया