Logo

खेलकुद

आसिफको शानदार शतकमा नेपालद्वारा पीएनजीलाई कीर्तिमानी लक्ष्य



काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २९७ रन बनाएको हो ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । गत वर्ष नेपालले पीएनजीविरुद्ध नै २७८ रन बनाएको थियो । यो नै नेपालले पहिलो ईनिङमा बनाएको सर्वाधिक ठूलो योगफल थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले ११० बलमा ११० रन बनाए । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए । करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए ।

पीएनजीका लागि सिमो कमाय ५ तथा राईली हेरुकेले ३ विकेट लिए । पीएनजीलाई हराएर नेपाल घरेलु सिरिजमा सुखद सुरुआत गर्ने योजनामा रहेको छ । पीएनजी पनि सिरिजको सुखद सुरुआत गर्न चाहन्छ ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जित नतिजा निकाल्नु पर्ने हुन्छ ।

घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो । यस खेलमा भने नेपाललाई जित अति आवश्यक रहेको छ ।

  • याे पनि…

पीएनजीविरुद्ध आसिफकाे शतक

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १३:१६   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।