काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टू को क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उनले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले भने-‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईँहरूले जसरी खेल प्रदर्शन गर्नुभयो, तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईँहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’
प्रधानमन्त्री प्रचण्डले यसअघि पनि सरकारले जनही रु दुई लाख राशिले पुरस्कृत गरिसकिएको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएका छन् । उनले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’
बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई नौ रनले पराजित गरेको थियो । प्रधानमन्त्री प्रचण्डले क्रिकेट खेलाडीको मेहनतलाई सरकारको तर्फबाट सम्मान गर्ने र आगामी दिनमा थप भौतिक पूर्वाधारको विकास तथा खेलाडीका लागि थप सुविधाको प्रबन्ध गर्ने विश्वाससमेत दिलाएका छन् । प्रधानमन्त्री निवासमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र अन्य पदाधिकारीको समेत सहभागिता थियो ।




















प्रतिक्रिया