काठमाडौं । सिन्धुली र काभ्रेबाट बागमती प्रदेशसभामा निर्वाचित सांसदहरुले ‘महाभारत पर्यटन मार्ग’का लागि सरकारसँग बजेट माग गरेका छन् । बागमतीका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका गंगानारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा दलका प्रमुख सचेतक रत्न ढकाल, प्रदेश सदस्यद्वय मातृकाप्रसाद भट्टराई र सुष्पा भुजेल न्यौपानेसहितको टोलीले आगामी आर्थिक वर्षमा महाभारत पर्यटन मार्गका लागि बजेट व्यवस्था गर्न मागरेको हो ।
सो टोलीले शनिबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी आव २०८०/०८१ को नीति कार्यक्रममा योजना समेटी बजेट विनियोजन गर्न माग गरेका हो । काठमाडौं–काभ्रे–सिन्धुली–उदयपुर हुँदै सुनसरीको बरहा क्षेत्रसम्मको महाभारत श्रृंखलालाई जोड्ने उक्त मार्गलाई राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्ने समेत प्रदेशमन्त्री तथा सांसदहरूले माग राखेका छन् ।
जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले उक्त मार्गलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका कानुनमन्त्री श्रेष्ठले जानकारी दिए । उक्त मार्गअन्तर्गत ग्वार्कोदेखि ढुंखर्कसम्म सडक कालोपत्र भइसकेको र बाँकी खण्डको अधिकांश भागमा ट्रयाक खुलेको छ । कतै पनि पुल निर्माण गर्नु नपर्ने भएकोले यस सडक निर्माणका लागि लागत सस्तो पर्ने बताइएको छ ।




















प्रतिक्रिया